कृषिसमाचार

सुन्तलाको समस्या र समाधानका उपाय


धनकुटा सुन्तलाखेतीका लागी उपयुक्त जिल्ला रहेको कुरो प्रायः नेपालीहरुलाई जानकारी छ। धेरै वर्ष अघिदेखि धनकुटाका विभिन्न क्षेत्रमा सुन्तला खेती हुँदै आइरहे पनि विगतका तीन चार दशक अवधिमा यो खेतीले व्यवसायिकताको बाटो लिएको छ। धनकुटाको चौबिसेमा मात्र लगभग पाच – छ करोड रुपैयाँ भित्र्याउन सफल यो खेतीमा रोग कीरा मलखाद र पानी व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको छ। हुन त धनकुटा बजार क्षेत्रदेखि स्याउलेसम्मको भु-भागमा बगान नै गृनिङ्ग रोगका कारण बोट मरेर सकिने समस्या देखिएको छ। चौबिसे क्षेत्रको बोधेमा अहिले पानी तथा रोगकीरा व्यवस्थापनको अभावमा बोधे क्षेत्र सुन्तलाबिहिन बनेको छ भने मौनाबुधुकमा सामान्य उत्पादन भइरहे पनि केही चुनौतीहरु रहेका छन्। किसानहरुमा प्राविधिक सरसल्लाह र ज्ञानको कमी नै मुख्य समस्या रहेको यो क्षेत्रमा सामान्य व्यवस्थापन पनि नभएको हो कि जस्तो अनुमान गर्न सकिन्छ।

हाल प्रकोपको रुपमा देखिएका केही समस्याहरु छन् र समाधानका उपायहरु उल्लेख गरिएको छ।
१. वर्षातको समयमा पानी बढि भएर जरा कुहिने समस्या:
फाइटोप्थेरा नामक ढुसीका कारण जरा कुहिएर सुन्तलाको बोट नै टुप्पोबाट सुक्दै मर्दै जाने र जराले चाहिने मल पौष्टिकतत्व बिरुवालाई दिन नसक्दा पात पहेलो र सानो हुने समस्याहरु देखिएको छ।
समाधानको उपाय:
क. बर्षाको समयमा पानी बिरुवामा भरसक हिलो हुन नदिन ड्रेन बनाउने काम गर्नु उपयुक्त देखिएको छ।
ख. फस्फोरस एसिड या मेफेनोजाम भएको ढुसिनाशक विषादीको जराको माटो खोलेर प्रयोग गर्ने।
ग. तीनतिर तीनपातेको बिरुवा फेदमा गास्ने जसले खाद्यतत्व बिरुवामा पुर्याउन सहज बनाउछ।
घ. एन् पि के र सूक्ष्म खाद्यतत्वको प्रयोग गर्ने।
२. प्रशस्त मलखाद लगाए पनि बिरुवामा खाद्यतत्वको कमी
माटोमा पिएचको असन्तुलन, कमजोर जराहरु र खाद्यतत्व जरामा नपुगी माटोमा नै अड्किने समस्याका कारण बिरुवाले खाद्यतत्व नपाउने समस्या देखिन्छ।
क. यसका लागि पि एच टेस्ट गर्ने र अम्लीय या क्षार्य भए पि एच ५-७ सम्म ल्याउन उपचार गर्ने।
ख. जरा खोलेर जराको अवस्था जाँच गर्ने। कमजोरी भए उपचार गर्ने।
३. खाद्यतत्व र पानीको कमी
खाद्यतत्वको कमी भएर बोट सुक्दैजाने तथा सुख्खा मौसममा ओइलिने र मर्ने समस्या देखिन्छ।
क.यसका लागी सम्पूर्ण खाद्यतत्वहरु जैविक मल साथै अतिरिक्त आवश्यक मात्रामा एन पि के रथा सूक्ष्म खाद्यतत्व जरा र पातमा दिने। यसको लागी पारिपात्ले सुन्तलाजात कृषि अनुसन्धान केन्द्रले बनाएको १२ महिने क्यालेन्डरलाई प्रयोग गर्न सकिन्छ।
ख.माघदेखि जेठको दोश्रो हप्तासम्म १०-१५ दिनको फरकमा पानी Sprinkle or Drip सिंचाई गर्ने ।
४. स्टेम बोरर कीराले रुख छेडेर मार्ने समस्या
प्रायः रुखको फेद र कापबाट बोक्रो घेरा पारेर भित्र पस्ने यो कीराले बिस्तारै रुख मार्ने गर्दछ। यसले बाहिर बोक्रोको झिल्ली पनि बनाउने गर्दछ।
यसलाई कन्ट्याक्ट् विषादी लगाएर मार्न सकिन्छ।
५. औसाकीराको समस्या
सुन्तला पाक्ने समयमा कीरा लागेर खसेको सुन्तलाहरु देखिन्छ। ती सबै चिचिला सुन्तलामा औसाकीराको पुतलीले फूलपारे पछि बिस्तारै कीरा बन्छ। र त्यो कीराले असोजदेखि मङदेखीसम्म फल झार्ने काम गर्छ।
क.यसको लागी सख्खरमा पानी र थोरै कन्ट्याक्ट् विषादी मिसाएर चैत्रदेखि श्रावण अवधिसम्म राखिदिने।
ख. झरेका सुन्तलाहरुलाई उसिनेर गाइबस्तुलाई खुवाउने या एक फीट मोटो माटोको थाकले खाल्डो बनाएर थिच्ने गाड्ने या प्लास्टिकमा बन्द गरेर कुहाउने।
ग. प्रोटिन बेटको हप्ता हप्तामा प्रयोग गर्ने या मिथाइल युजिनलको प्रयोग गर्ने।
६. माइट्स(रेड स्पाइडर माइट्स, सिट्र्स रस्ट माइटस) स्केल, एफिड र मिलिबगको प्रकोप
कमिलाको सहायताबाट कलिलो मुनामा लहरै टास्सिएर बसेका यी कीराहरुले चुस्ने र खाद्यतत्वको अभाव बनाइदिने र यसको गुहुबाट कालो लाही ध्वासे ढुसी बन्ने र यसले पात र डाठ कालो बनाई बिरुवालाई खाद्यतत्व बनाउन समस्या पार्ने गर्दछ।
क. यसको लागि एग्रो स्प्रे ओइल पौष- माघमा, वैषाख भाद्र आश्विनतिर स्प्रे गर्नुपर्छ। यो ओइलले अन्य कीराहरु र पतेरो नियन्त्रणमा पनि सहयोग पुर्याउछ।
ख. एबामेक्टिनजन्य विषादी (माइट्स अफ या ओमाइट्स) स्प्रे गरे यी कीरा नियन्त्रण हुन्छ।
ग.निमको पिना, बोन मिल, बालुवासङ्ग मिसाएर फेदमा लगाइदिनाले कमिला नियन्त्रण गर्छ।
७. पतेरो लगायत चुस्ने कीराको प्रकोप
हरियो, फुस्रो र रातो टाटेपाटे पतेरोहरुले साउन भदौतिर फल चुसेर फल झार्ने गर्छ। यसलाई इमामेक्टिन बेन्जोएट, इमिडाक्लोपृड जस्ता विषादीहरुले नियन्त्रण गर्न सक्छ। जैविकरुपमा एग्रो स्प्रे ओइलले पनि भगाउन मद्दत गर्छ।
८. हर्मोन असन्तुलनका कारण कुनै वर्ष बढी फल्ने र नफल्ने समस्या
सुन्तलामा हर्मोनका असन्तुलनका कारण एक वर्ष बढी फल्ने अनि अर्को वर्ष नफल्ने समस्या देखिएको छ।
यसका लागी साइटोकिनिन, जिबरालाइन, अक्सिन, अब्सिसिक एसिड तथा ईथिलिन जस्ता हर्मोन उत्प्रेरकको प्रयोग विशेष सुन्तलाजात विज्ञको सल्लाह अनुसार समय मिलाएर प्रयोग गर्न सकिन्छ।
यी हर्मोनहरू विभिन्न कामका लागि प्रयोग गरिन्छ। सायटोकिनिन मुख्यत: बोटबिरुवाको कोशिका विभाजन र विकासमा सहयोग गर्छ। अक्सिन हर्मोन बिरुवाको मूल र हाँगा बढाउन मद्दत गर्छ। यो बिरुवाको दिशा निर्धारण (जस्तै, घामतिर फर्किने) र फुल फुलाउने प्रक्रियामा पनि महत्वपूर्ण हुन्छ। अक्सिनले बिरुवाको कोशिका विस्तार र विभाजनमा सहयोग गर्छ, जसले गर्दा बिरुवाको समग्र वृद्धि हुन्छ।
समग्रमा सायटोकिनिन र अक्सिन दुबै प्रकारका हर्मोनहरू बिरुवाको बृद्धि र विकासमा महत्वपूर्ण भूमिका खेल्छन्। तपाईँको बगैंचामा के आवश्यक छ भन्ने कुरामा निर्भर गर्छ। सामान्यतया, दुबैको सन्तुलित प्रयोगले अझ राम्रो नतिजा दिन सक्छ। यदि बोटको जरा र हागा मजबुत बनाउन चाहनुहुन्छ भने अक्सिन, र यदि पात, फुल वा फल बढाउन चाहनुहुन्छ भने सायटोकिनिन प्रयोग गर्न सकिन्छ।
जिबरेलिन हर्मोन मुख्यत: बिरुवाको उचाइ बढाउन, बीउको अंकुरण सहयोग गर्न, र फलफूलको आकार बढाउन प्रयोग गरिन्छ। यो बिरुवाको कोशिका विस्तार र विभाजनमा मद्धत गर्छ, जसले गर्दा बिरुवाहरू लामो र स्वस्थ हुन्छन्।
इथिलिन हर्मोन मुख्यत: फल पक्राउने प्रक्रियामा पनि भूमिका खेल्छ। यसले फलको पक्ने प्रक्रिया छिटो गराउँछ र बिरुवाको उमेर बढ्दै जाँदा पात झर्ने प्रक्रियामा पनि सहयोग गर्छ।
९. फूल झर्ने तथा फल सानैमा झर्ने समस्या
क्याल्सियम र बोरोनको कमीका कारण फूल र चिचिला झर्दछ।
अत्यधिक गर्मीका कारण पनि मसिना दाना झर्ने गर्दछ।
सिंचाईको अभावका कारण पनि स-साना दाना झर्ने समस्या देखिन्छ।
यो समस्याको रोकथामका लागि क्याल्सियम बोरोनको प्रयोग तथा सिंचाईको सेड्युलमा विशेष ध्यान दिने हो भने धेरै नियन्त्रण गर्न सकिन्छ।
क्याङ्कर, फेल्ट जस्ता रोग देखिए पनि चौबिसेका सुन्तला बगैचाहरुमा यी माथिका समस्या अधिक देखिन्छ। यसका लागि पनि आवश्यक उपचार गर्न सके उत्पादन अझ बढ्ने सम्भावना हुन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
ताजा अपडेट
ट्रेन्डिङ
प्रोफाइल
सर्च