चाड दशैको बारेमा समय अनुकुल बहस आवश्यक
आहुतीका अनुसार परापूर्वकालमा बाली पाकेपछि भित्र्याएको उत्सवको रुपमा दशै चाडको शुरूवात भएको हो। कालान्तरमा यसैलाई हिन्दुकरण गरेर बिजयी उत्सवको रुपमा रुपान्तरण गरिएको भनेर भनिन्छ। दुर्गा देवीपूजाको रुपमा त्यसपछि मान्न शुरूवात गरेको भनाइ छ । मधेसमा चाहिँ हिन्दुहरुको आगमन सङ्गसङ्गै दशराको आगमन भएको थियो। पहाडमा दशौ शताब्दीमा आर्यहरुको आगमनमा नै आएको पाइन्छ भने काठमाडौमा चाहिँ वैशालीका हिन्दु लिच्छविहरु आएसङ्गै भित्रिएको हो।
आजभोलिको फूलपाती भित्र्याइने चलन चाहिँ गोर्खाले काठमाडौ विजय गरेपछि मात्र आएको भन्ने उनको भनाई छ। प्रमाणस्वरुप अहिले पनि फूलपाती गोर्खाबाट नै ल्याइन्छ।
असुरहरुमाथिको विजयी उत्सवका कथा चाहिँ विजय पाएकाहरुले लेखेका कथा ईतिहासका कारण मात्र दशैसङ्ग जोडिएको हो तर असुर भनिएकाहरु दक्षिण भारतमा अझै पूज्य नै रहेका छन्। त्यसैले असुर खराब हुन् भन्ने प्रमाणित नभएको र कथित सुरहरुको हस्तक्षेपकारी कामका कारण मात्र कथा बनाइयो।
आहुतीका अनुसार दशैका बारेमा आजको समय सान्दर्भिक बहस हुन्न तर यो अत्यावश्यक रहेको उनको जिकिर छ। उनका अनुसार दशैको मुखमा आएर भएको अचाक्ली महङ्गीलाई विश्लेषण या बहस गरिदैन। अर्को कुरो दशैकै समयमा नया सामान र कपडा किन्नुपर्छ भनेर उपभोक्तावादी ढंगले जनतालाई पढाइएको छ। एकातिर लुटको साम्राज्य खडा गरेर सिमित अनुगमनका लागी संयन्त्र खडा गरिएको छ। तीन करोड जनतालाई अनुगमन गर्ने मानिस सिमित संख्यामा तोकिएको छ। जसका कारण बजार अस्तव्यस्त छ; जसको बहस नै गरिन्न। अनि बजार दलालसङ्ग कमिशनको डिल अत्यावश्यक हुन्छ।
अर्को महत्त्वपूर्ण कुरा यो छ कि आजको आधुनिक युगमा देवी दुर्गा आएर जनताको भलो गरिदिन्छिन् भनेर सिकाउदा नेपालका नयाँ पुस्ताले भविष्य कसरी निर्धारण गर्छ भन्ने प्रश्नचिन्ह खडा हुन्छ। जबकि अहिले कम्प्युटर नसमाती कुनै विकास असम्भवप्रायः बनेको अवस्थामा महिसासुर र रावण मार्न भनेर सिकाउनु हास्यास्पद हुन्छ।
श्रोत: अन्तर्वार्ता