विक्की कौशल र नवाजुद्दिनको थ्रिलर कथा, हेर्नुहोस् युट्युबमा
फ्राइडे सिनेमा
सन् १९९९ मा ‘सरफरोश’ र ‘शूल’ जस्ता फिल्ममा सानो भूमिकाबाट बलिउड प्रवेश गरेका नवाजुद्दिन सिद्दिकीले एक दशकसम्म साना भूमिकामै अभिनय गरेर चित्त बुझाए। बलिउड ‘हिरो’ मा हुने सुन्दर अनुहार, सुगठित शरीर, नाच्न जान्ने केही गुण नभएका उनलाई बलिउडमा स्थापित हुने लामो समय लाग्यो।
सन् २०१० मा ‘पिप्ली लाइभ’ र २०११ मा ‘पतंग: द काइट’ जस्ता फिल्ममा उनी अलि लामा भूमिकामा देखिए। सन् २०११ मा ‘देख इन्डियन सर्कस’ फिल्मले उनलाई उत्कृष्ट अभिनेताको पुरस्कार दिलायो। सन् २०१२ को ‘तलाश’, ‘कहानी’ र ‘ग्यांग्स अफ वासेपुर’ जस्ता फिल्मले उनको करिअरलाई नै नयाँ उचाइ दियो।
त्यसपछिका वर्षमा अभिनय गरेका धेरै फिल्मले उनी निरन्तर निर्देशक, दर्शक र समीक्षकहरूको मन जित्न सफल छन्। देशभित्र र बाहिरका धेरै फिल्म महोत्सवमा उनको अभिनयको तारिफ भइरहेको छ।
दमदार अभिनयकै बलमा उनले थुप्रै अन्तर्राष्ट्रिय अवार्ड समेत पाइसकेका छन्। उनले आफूलाई बलिउडकै सबभन्दा उम्दा अभिनेताका रूपमा स्थापित गरिसकेका छन्। सहायक अभिनेता, खलपात्र वा मुख्य अभिनेता, सबै खालका भूमिकामा उनी सफल छन्। फिल्म व्यावसायिक रूपमा सफल होस् वा असफल, नवाजुद्दिनको करिअरमा त्यसको खासै असर परेको देखिन्न।
आफूले निर्वाह गर्ने चरित्रको मनोदशाअनुसार अभिनय गर्नु, ‘डायलग डेलिभरी’ र ‘बडी ल्यांग्वेज’ मा पनि पात्रअनुसारकै हेरफेर ल्याउन सक्ने नवाजुद्दिनले बलिउडको ‘हिरो’ को परिभाषा फराकिलो बनाएका छन्।
चरित्रअनुसारको जीवन बाँच्ने नवाजुद्दिनको दमदार अभिनय रहेको फिल्ममध्ये एक हो ‘रमन राघव २.०’।
मुम्बई सहरमा शृंखलाबद्ध रूपमा हत्या गर्दै हिँड्ने रमन राघव नामका अपराधीले सन् १९६० दशकको मध्यतिर मुम्बई सहरमा आतंक मच्चाएको थियो। प्रायः फुटपाथका गरिब मानिसलाई आक्रमण गर्दै हिँड्ने रमन राघवले पैसा वा अन्य स्वार्थका कारण हत्या गर्थेन। उसले यस्तो अपराध गर्दै हिँड्ने मुख्य कारण थियो, उसलाई मान्छे मार्ने काममा आनन्द आउँथ्यो।
वयस्क महिला वा पुरुषबाहेक सानो बच्चाको समेत हत्या गर्न ऊ हिच्किचाउँथेन। ऊ मानसिक रूपमै रोगी थियो। प्रहरी समक्ष ४१ भन्दा बढी हत्या गरेको स्वीकार गरेको उसलाई सुरूमा फाँसीको सजाय र पछि त्यसमा पुनर्विचार गरी आजीवन कारावासको सजाय सुनाइएको थियो।
फिल्म ‘रमन राघव २.०’ मा निर्देशक अनुराग कश्यपले यही चरित्र भएको पात्रलाई वर्तमान सन्दर्भमा आफ्नै शैलीमा ढालेका छन्। ‘सिरियल किलर’ रमन को भूमिका नवाजुद्दिनले निर्वाह गरेका छन्। एसिपी राघवन सिंह अम्बी (राघव) को भूमिकामा विक्की कौशल छन् भने स्म्रुतिका नायडूको भूमिकामा सोभिता धुलिपाला छन्।
आठ खण्डमा बाँडिएको यो फिल्मको कथा हत्याको घटनाबाट सुरू हुन्छ। स्वाभाविक रूपमा अरू फिल्ममा जस्तै हत्यापछि प्रहरी हत्याराको खोजमा सक्रिय बन्छ। तर यो प्रहरीले खेद्ने र अपराधी भाग्ने खालको सामान्य कथा होइन। यसमा त सुरूआततिर हत्याराले प्रहरीसमक्ष ‘हत्यारा हुँ’ भन्दा पनि प्रहरीले मानसिक रोगी भनेर बेवास्ता गर्छन्।
थ्रिलर सस्पेन्स शैलीको यो फिल्ममा कथाभन्दा नवाजुद्दिनले निर्वाह गरेको पात्रको चरित्र रहस्यमयी र रोचक छ। उनले कुन बेला के गर्छन्, अनुमान गर्नै सकिन्न। फिल्मको सबैभन्दा रमाइलो पक्ष यही हो।
मानसिक रूपमा विक्षिप्त, क्रुर र अनौठो पात्रका रूपमा नवाजुद्दिनले गरेको अभिनयले दर्शकलाई वास्तविक हत्याराको गतिविधि नियालिरहेको महसुस गराउँछ। यसमा उनीसँगै नसा सेवन गर्ने प्रहरीको भूमिकामा उम्दा कलाकार विक्की कौशलको कुशल अभिनय पनि देख्न पाइन्छ।
हत्यारा पात्रको निधारमा देखिने दाग, उसको अप्रत्याशित स्वभाव, कालो बिरालो, गल्ली, लागुपदार्थ, अपराध, यौन र हिंसात्मक दृश्यले भरिएको ‘रमन राघव २.०’ डार्क फिल्म हो।
मान्छे र समाजको अँध्यारा पाटो उजागर गर्न माहिर अनुराग कश्यपको यो फिल्मले धर्म वा कानुनका नाममा हुने हत्या र अपराधका नाममा हुने हत्यामा भएको समानता र फरकबारे सोच्न बाध्य पार्छ।