बालेनले सुरू गरेको न्यूरोड पुनर्जन्मको बाटो
काठमाडौं महानगरपालिकाले न्यूरोडलाई ‘सवारी निषेधित क्षेत्र’ बनाउने तयारी सुरू गरेपछि त्यहाँका व्यवसायी र वडाध्यक्षहरूले विरोध गरेका छन्।
पहिले पार्किङ हटाएर दोस्रो चरणमा ‘पिक-एन्ड-ड्रप’ (यात्रु चढाउने र ओराल्ने) लागू गर्ने र त्यसपछि पूरै न्यूरोड क्षेत्रमा सवारी निषेध गर्ने महानगरपालिकाका पूर्वाधार विकास सल्लाहकार सुनिल लम्साल बताउँछन्।
यसमा न्यूरोड गेटदेखि भूगोल पार्क, वसन्तपुर दरबार परिसर, इन्द्रचोक, असन, भोटाहिटी र जमल नाचघरसम्मका क्षेत्र पर्छन्।
काठमाडौं महानगरका मेयर बालेन शाहले अहिलेलाई पार्किङ हटाएर फुटपाथ विस्तार गर्ने र पछि सवारी प्रवेशमै रोक लगाउने योजना अघि सारेका हुन्।
मेयरको योजनामा न्यूरोडका व्यवसायी र स्थानीय वडाध्यक्षहरूले भने साथ दिएका छैनन्। व्यवसायीहरूले पसल बन्द गरेर दबाब दिइरहेका छन् भने वडाध्यक्षहरूले आफूसँग सरसल्लाह नगरी योजना लागू गरिएको भनेका छन्।
दुवैको डर एउटै छ — पार्किङ हटाउँदा वा सवारी प्रवेशमा रोक लगाउँदा न्यूरोडको व्यापार सुक्ने त होइन!
कोरोना लकडाउनपछि नै मन्दीको मारमा परेको व्यापार-व्यवसायमा कतै महानगरको नयाँ निर्णयले पूरै ब्रेक लगाइदिने त होइन!
उनीहरू भन्छन् — पुरानो बसपार्कको नवनिर्मित काठमाडौं टावरमा गाडी पार्क गरेर न्यूरोड को धाउँछ! यो त सर्वसाधारणका लागि साह्रै अपायक भएन!
व्यवसायी र वडाध्यक्षहरूको डर जायज हो, तर न्यूरोडको व्यापार-व्यवसाय चम्काउने र न्यूरोडलाई पुनर्जन्म दिने बाटो यही हो। अन्तर्राष्ट्रिय अनुभवले पनि यही देखाउँछ।
पछिल्लो समय संसारभरका ठूला सहरहरूले भित्री बस्तीका सडकमा गाडीभन्दा मान्छेलाई प्राथमिकता दिन थालेका छन्। ती ठाउँमा सवारी निषेध गरिरहेका छन्। सडक र पार्किङको सट्टा बढीभन्दा बढी साइकल लेन निर्माण गरिरहेका छन्।
यस्तो योजनाले ती ठाउँको व्यापार-व्यवसायमा कुनै असर पारेको छैन, बरू पहिलेभन्दा बढेकै देखिन्छ।
त्यसैले न्यूरोडलाई ‘सवारी निषेधित क्षेत्र’ बनाउने योजना किन जरूरी छ भनेर बुझ्न हामी अन्तर्राष्ट्रिय अनुभवसहित न्यूरोडको स्वरूप कस्तो बनाउन सकिन्छ भनेर केही सम्भावित डिजाइनहरूबारे यहाँ चर्चा गर्दैछौं।
अन्तर्राष्ट्रिय अनुभवबाट सुरू गरौं।
सबभन्दा राम्रो उदाहरण डेनमार्कको राजधानी कोपनहेगन हो।
सन् १९६२ सम्म कोपनहेगनको मध्य–सहर अहिले काठमाडौंजस्तै थियो। सडक र चोकहरू गाडीले भरिएका हुन्थे। सडक किनार हामीकहाँ जस्तै अव्यवस्थित रूपले गाडी पार्क गरिएका हुन्थे। निजी सवारीको बढ्दो प्रयोगसँगै यो बेथिति बढ्दै थियो। त्यही बेला कोपनहेगनले सहरलाई सवारीमुक्त पैदलमार्गमा परिणत गर्ने अभियान सुरू गर्यो।
सबभन्दा पहिला ‘स्ट्रोगेट’ भन्ने मुख्य सडकलाई पैदलमार्गमा परिणत गरियो। एक किलोमिटरभन्दा अलिकति लामो यो सडकमा सवारी निषेध गरेपछि पक्ष र विपक्षमा चर्काचर्की भयो। धेरैले ‘गाडी छिर्न नपाएपछि ग्राहक आउँदैनन्, बजार खर्लप्पै सुक्छ’ भन्दै विरोध गरे। अहिले न्यूरोडमा जस्तै!
यस्ता असन्तुष्टिबीच पनि सवारीमुक्त अभियान रोकिएन।
कालान्तरमा सबैका शंका गलत साबित भए। मुख्य सडकमा गाडी चल्न नदिएपछि पैदलयात्रुहरूको आवागमन ह्वात्तै बढ्यो। शान्त बजारमा घुमफिर गर्न आउनेहरू बढे। सडकपेटीमा रेस्टुरेन्ट विस्तार भयो। पैदल घुम्दै, खाँदै, किनमेल गर्दै हिँड्नेहरूले व्यापार चम्कियो। घरबहाल बढ्यो। सहरकै ‘हटस्पट’ बनेपछि सडकछेउका घरको माथिल्ला तल्लामा नयाँ–नयाँ अफिस खुल्ने क्रम सुरू भयो। घरधनी पनि फाइदामा रहे, व्यापारी पनि।
यसैको सिको गर्दै कोपनहेगनका थुप्रै सडक र चोकहरू पैदलमार्गमा परिणत हुन थाले।
आज कोपनहेगनमा हामीकहाँ भन्दा फराकिला र स्तरीय सडक छन्, तर त्यहाँ गाडी कम, साइकल बढी कुद्छन्; मान्छे बढी हिँड्छन्।