नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको छः मनीषा कोइराला
अभिनेत्री मनीषा कोइरालाले नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको बताएकी छन्।
शनिबार काठमाडौंमा आयोजित राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएकी हुन्।
उनले अहिले सरकार र नेतृत्व कुन बाटोमा हिँडिरहेको छ भनेर एक पटक सोच्नुपर्ने बताइन्। उनले अहिलेकै बाटो देश अघि बढाउने हो भने गन्तव्य स्पष्ट नहुने बताइन्।
उनले वीर नेपाली भनेर चिनिने पहिचान अहिले फरक पहिचानका रूपमा परिणत भइरहेको बताइन्।
उनले नेपाल भूगोल, प्राकृतिक सौन्दर्यता र संस्कृतिले विश्वकै उत्कृष्ट रहेको बताइन्।
उनले रोमको आर्किटेक्चरभन्दा नेवारी र नेपाली आर्किटेक्चर धेरै राम्रो रहेको पनि बताइन्।
उनले भनिन्, ‘हामी अहिले कुन बाटोमा हिँडिरहेका छौं। यही बाटोमा हिँड्ने हो भने हाम्रो गन्तव्य के हुन्छ? कस्तो थियो हाम्रो नेपाल? भन्नुस् त। वीर नेपाली भनेर चिनिन्थ्यो। भूगोल, नेचर, सांस्कृतिक सम्पदा, हिमाल, पहाड, तराई, नदी खोला कति राम्रो छ। हाम्रो सांस्कृतिक कल्चर, हेरिटेज हेर्नुस् त। मान्छेहरू भन्छन्, रोमको आर्किटेक्चर राम्रो छ। म त अहँ। नेवारी आर्किटेक सबभन्दा राम्रो छ, दुनियाँभरमा। नेपाल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ।’
अभिनेत्री कोइरालाले आउँदो पुस्तालाई भत्किएको, टुक्रिएको, आपसमा मतभेद राखेर फुटेको नेपाल हस्तान्तरण गर्न लागिरहेको बताइन्। —न्युज एजेन्सी नेपाल